एसीसी पुरुष यु–१६ क्रिकेट / भुटानमाथि नेपालको जित

असार १७, २०८२ | काठमाडौं

नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्ने भएको हो ।

आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २ सय ९८ रनले हरायो । भुटानका लागि सुजन दावाले १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो । 

नेपालका लागि रौनक श्रीवास्तवले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालले समूह चरणका चारै खेल जितेको हो । मलेसिया भने समूह बी को उपविजेता हो ।

मलेसिया हङकङसँग मात्र पराजित भएको थियो । हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ । सेमिफाइनलका खेलहरू पर्सि बिहीबार हुनेछन् भने फाइनल आगामी शनिबार हुनेछ । 

नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो । 


प्रतिक्रिया