एसियन कपको छनोटका क्रममा एक सयौं म्याच खेल्दै

असार १५, २०८२
एएफसी महिला एसियन कप फुटबलको २१ औं संस्करण अर्को वर्षको अष्ट्रेलियामा आयोजना हुँदैछ । त्यसका लागि छनोट खेलहरु सुरु भईसकेका छन् । छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला टोली हाल उज्वेकिस्तानमा छ ।
नयाँ मुख्य प्रशिक्षक, नयाँ जोश र उत्साह अनि महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित महिला टोली उज्वेकिस्तान पुगेको हो । यस प्रतियोगितामा छनोट हुन सके महिला टोलीका लागि सम्भावनाका अन्य ढोकाहरु उघ्रिने छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबल खेलेको चार दशक हुन लागिसकेको छ । सन् १९८६ मा महिला एसियन कपबाटै अन्र्तराष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपालले यो अवधिमा ९९ खेल खेलेको छ । साफ च्याम्पियनसिप देखि एसियन कपसम्म खेलिसकेको महिला टोली ओलम्पिक छनोटमा पनि सहभागी भईसकेको छ ।
नेपाली महिला फुटबलरले भारत, साउदी अरबेया, भुटान, फ्रान्ससँगै युरोपको व्यवसायिक फुटबल समेत खेलेर कीर्तिमान बनाइसकेका छन् ।
तर महिला फुटबलले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । उपाधिको खडेरीलाई तोड्न महिला टोली सामु एउटा सुनौलो अवसर छ ।
राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले भनिन् “ एसियन कपको छनोट खेल्न गइरहेका छौं । यो हाम्रो लागि ठूलो अवसर हो । यसलाई हामीले गुमाउनु हुन्न । पहिलो पटक विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्दै छौं । उहाँको आमनले टोलीमा ठूलो परिवर्तन पनि आएको छ । उहाँको प्रशिक्षण भिन्न छ । यूरोपबाट सिकेर आएकोे कुरा खेलमा प्रस्तुत गर्नेछु । ”
नेपाली महिला फुटबल टोलीका धेरै खेलाडीहरु करियरको उत्तरार्धतिर छन् । ती खेलाडीको भविष्य जोडिएको टुर बन्न सक्छ उज्वेकिस्तान । उनीहरूका लागि एसियन कपमा छनोट भएर खेल्ने यो अन्तिम अवसर पनि हुन सक्छ । यदी यो पुस्ताले त्यहाँ पुग्न सकेन भने यत्तिकै अर्को टिम बन्न धेरै समय लाग्नेछ ।
त्यसैले नेपालका लागि उज्वेकिस्तानको छनोट प्रतियोगिता महत्वपूर्ण छ । यसमा छनोट हुन सके महिला फुटबलको अझ राम्रो अवसरको ढोका खुल्न सक्छ ।
नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । सो खेल नेपालको महिला टोलीको एक सयौं अन्तर्राष्ट्रिय खेल हुनेछ । समयवाधि हेर्दा यो लामो भएपनि नेपालले खेलेको खेल तुलनात्मक रुपमा कम हो । नेपाली महिला टोलीले एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्नु राम्रो भएपनि चार दशकको समयका लागि पर्याप्त नभएको फरवार्ड सावित्रा भण्डारीले बताइन् ।
बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली टोलीले तीन सातासँगै प्रशिक्षण गरेर एसियन कप छनोटका लागि तयारी गरेका छन् । वाइल्ड नेपाली महिला फुटबल टिम सम्हाल्ने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । युरोपदेखि विभिन्न क्षेत्रको प्रशिक्षण र टेक्निकल डिरेक्टरको अनुभव बटुलिसकेका वाइल्डको काँधमा अहिले नेपाली महिला टोलीलाई एसियन कपमा छनोट गराउने जिम्मेवारी छ ।
नेपालको महिला फुटबल टिमलाई अहिले सुनौलो पुस्ताको रुपमा हेरिएको छ र यही टिमले एसियन कप समेत खेल्ने सक्ने फुटबल विश्लेषकहरूको भनाई पनि छ । सन् १९९९ देखि महिला एसियन कप नखेलेको नेपाल र पहिलो पटक नेपाली टिम हेरिरहेका प्रशिक्षक वाइल्ड दुवैका लागि उज्वेकिस्तानमा यस पटक ठूलो परिक्षा हुनेछ ।
राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले भने “ जित्ने अपेक्षा राख्नु ठिक भएपनि वास्तविक पनि हेर्नुपर्छ । टिमलाई धेरै दबाब दिन हुँदै । अपेक्षा जित्ने नै हो, तर हामी रियलिस्टिक हुनुपर्छ । खेलाडीलाई धेरै दबाब दिनु हुन्न । तीन साता खेलाडीले धेरै मिहिनेत गरेको छ । हाम्रो समूहमा आफू भन्दा बलिया टिम छन् । त्यसैले एसियन कपमा नेपाल अहिले नै छनोट हुन्छ भनेर भन्न सकिन्न । छनोट होस् भन्ने आफ्नो पनि सपना छ । सारात्मक नतिजाको आशामा छु । जित्न कै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सहजै जित्न सम्भव छैन । ”
नेपालले अहिलेसम्म तीन पटक महिला एसियन कप खेलिसकेको छ । तर त्यो सबै ८० र ९० को दशकमा । महिला टोलीले सन् १९८६ को छैटौं, सन् १९८९ को सातौं र सन् १९९९ मा ११औं संस्करण खेलेको थियो । तीनै पटक नेपालले छनोट नखेली सिधै एसियन कप खेलेको थियो । तीनै पटक नेपालले कुनै पनि खेल जित्न सकेन ।
तीन संस्करणमा नेपालले १० खेल खेल्दा सबै खेलमा पराजित भयो । पछिल्लो पटक नेपालले सन् २०२२ को एसियन कपका लागि छनोट प्रतियोगिता खेलेको थियो तर छनोट हुन सकेन । सन् २००६ को १५औं संस्करणदेखि महिला एसियन कपमा छनोट प्रतियोगिता हुन थालेको थियो । नेपालले २००६ देखि २०१८ मा भएको १९औं संस्करणसम्म छनोट खेलेन । नेपाली महिला टोलीले नौं वर्षपछि एएफसी महिला एसियन कप छनोट खेल्दै छ । घरेलु टोली उज्वेकिस्तान यो समूहको सबैभन्दा बलियो टिमको रुपमा छ ।
त्यो टिमलाई पाखा लगाउँदै एसियन कपमा छनोट हुनु नेपालका लागि त्यति सहज पनि छैन । उज्वेकिस्तान यस समूहमा सबैभन्दा बलियो टोली भएको र उसकै घरमा गएर फरक परिवेशमा खेल्नुपर्ने भएकोले पनि नेपालका लागि एसियन कपमा पुग्न ठूलो चुनौती पार गर्नुपर्ने हुन्छ । फिफा वरियतामा उज्वेकिस्तान ५१ औं स्थानमा छ भने नेपाल १०० औं स्थानमा छ । नेपाल भन्दा तल रहेको लाओस १०७ औं र श्रीलंका १५७ औं स्थानमा छ ।