राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक

असार १६, २०८२ | काठमाडौं

युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति, २०८२ सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नीति सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय खेलकुद नीति, २०८२ मा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति समावेश गरिएका छन् । 

यस्तै संघ, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार नीतिमा समावेश गरिएको जनाइएको छ । सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलकूद क्षेत्रमा स्पष्ट अधिकार प्रत्यायोजनका साथै यसको व्यावसायिकरण गर्न खेलकुद नीति ल्याएको बताउनुभयो । पूर्वाधारको समान पहुँच, समावेशिता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार आवश्यकताअनुरूप नयाँ खेल नीति ल्याइएको उहाँको भनाइ छ । संघीयताको रचनाअनुरूप पछिल्लो नीति नरहेको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारलाई खेलकुदप्रति यस नीतिले स्पष्ट जिम्मेवारी प्रदान गरेको दाबी गर्नुभयो ।

 यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले खेलाडी र सञ्चारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा खेलाडी कबड्डीकी मानमती विष्ट र अनुजा कुलुङ राई, तेक्वान्दोका प्रेमबहादुर लिम्बु र वीरबहादुर महरा, फुटबलकी दिपा शाही, पारा तेक्वान्दोका भरतसिंह महता, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगीलामा, खेल चिकित्सक राजु डंगोल महर्जन र खेल निर्णायक धनकुमार मैनाली सम्मानित भएका छन् । 


प्रतिक्रिया