प्रिमियर लिगका पछिल्ला खेलमा शीर्ष क्लबहरु विजयी

असार २१, २०७७ | एजेन्सी

ईङलीश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा लेष्टर सिटी, चेल्सी, म्यानचेष्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।

तेस्रो स्थानमा रहेको लेष्टरले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै म्यानचेष्टर सिटीसँगको दुरी ८ अंकमा झारेको छ । जेमी भर्डीले २ तथा केलिची ईन्हान्चोले एक गोल गर्दै लेष्टरलाई सहज जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लेष्टरले सबै गोल दोस्रो हाफमा गरेको हो । ३३ खेलबाट उसको ५८ अंक भएको छ ।

वाटफोर्टलाई ३–० ले हराएको चेल्सी चौथो स्थानमै फर्किएको छ । ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गर्दै टोलीलाई पुरानै स्थानमा फर्काएका हुन् । पहिलो हाफमा २–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा १ गोल गरेको थियो । ३३ खेलबाट चेल्सीको ५७ अंक भएको छ ।

गएराती नै म्यानचेष्टर युनाईटेडले बर्नमाउथलाई ५–२ को फराकिलो अन्तरले हरायो । यो जितसँगै केहि समय तालिकाको चौथो स्थानमा पुगेको युनाईटेड चेल्सीको जितपछि फेरि पाँचौ स्थानमै झरेको छ । मासन ग्रीनउडले २ तथा मार्कोस रासफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फर्नाण्डेजले एक एक गोल गरे ।

ओल्भरहेम्प्टन भने आर्सनलसँग २–० ले स्तब्ध भयो । बुकायो साका र अलेक्जेण्डर लाकाजेट्जले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन् । यो जितले आर्सनललाई ४९ अंकमा तालिकाको सातौ स्थानमा पुर्‍याएको छ ।

रेलिगेशन नजिक रहेको नर्विच भने ब्राईटन एण्ड होभ एल्बियनसँग १–० ले पराजित भयो ।

प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुनेछन् । आज लिभरपुलले एष्टन भिल्ला, म्यानचेष्टर सिटीले साउथ हेम्प्टन, वेष्टहाम युनाईटेडले न्युक्यासल तथा सेफिल्ड युनाईटेडले बर्नलीसँग प्रतिस्पर्धा गर्नेछन् ।   


प्रतिक्रिया