विश्वकप छनौट खेल ६ महिना सर्‍यो

श्रावण २८, २०७७ | काठमाडौं

– कोरोना भाइरस संक्रमणका कारण कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली छनोट प्रतियोगिता फेरि सरेको छ । एसियाली फुटबल महासंघ एएफसीले अक्टोबर–नोभेम्बरमा गर्ने तयारी गरेको छनोट खेलहरु ६ महिना पछि सार्ने निर्णय गरेको हो । खेलको तालिका भने पछि तय गरिने एएफसीले जनाएको छ । 

कोरोना माहामारीको बढ्दो प्रभावसंगै खेलकुद गतिविधि तत्काल सुरु गर्न नसकिने एएफसीले स्पष्ट पारेको छ । एएफसीको यो निर्णयसंगै नेपालले घरेलु मैदानमा खेल्ने तीनै खेल ६ महिनापछि सरेका छन् । उसले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ एन्फामा पनि गराईसकेको प्रवक्ता किरण राईले जानकारी दिए ।

सोहि प्रतियोगीतालाई ध्यानमा राखी एन्फाले खेलडीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । प्रतियोगीता नै ६ महिना पछाडी धकेलिएपछि बन्द प्रशिक्षण पनि तत्काल नहुने प्रवक्ता राईले बताए । बन्द प्रशिक्षणका लागि सोमबार र मंगलबार गरी खेलाडी, अफिसियल तथा स्टाफहरुको कोरोना परिक्षण समेत गरिएको थियो ।


प्रतिक्रिया