मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै

कार्तिक ७, २०७७ | काठमाडौं

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । तर, अवस्था अघिल्लो वर्षभन्दा निकै भिन्न छ । 

मुम्बई तालिकामा स्थान सुधारको खोजीमा हुँदा चेन्नई प्लेअफमा स्थानको सम्भावना जिवित राख्न प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा चेन्नई पराजित भएमा प्ले अफ सम्भावना अंक गणितमा मात्रै सीमित हुन सक्छ । मुम्बई चेन्नईलाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ । यी दुई टोलीबीचको समानता भनेको दुबैले पछिल्ला खेलमा हार बेहोरेका छन् । 

मुम्बई किंग्स इलेभेन पन्जाबसँग दोहोरो सुपर ओभरमा र चेन्नई राजस्थान रोयल्ससँग ७ विकेटले हारेको थियो । तर, जारी सिजनमा यसअघि भएको भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । आजको खेललाई आइपिएलका दुई सर्वाधिक सफल कप्तानबीचको भिडन्तको रुपमा पनि लिन सकिन्छ ।

मुम्बईका कप्तान रोहित शर्माले चार र चेन्नईका महेन्द्रसिंह धोनीले तीन पटक आईपीएल उचालेका छन् । यी दुई टोलीबीच आईपीएलमा २९ खेल भएको छ । जसमा मुम्बई १७ खेलमा विजयी हुँदा चेन्नईले १२ खेलमा उसलाई मात खुवाएको छ । 

मुम्बई ९ खेलमा ६ मा जितसहित १२ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईले खेलेका १० मध्ये मात्रै ३ मा जित हात पारेको । उ ६ अंकसहित पुछारमा छ । यो सिजन उत्कृष्ट प्रदर्शन गरेको दिल्ली १० खेलमा ७ मा जित निकाल्दै १४ अंकमा शीर्ष स्थानमा छ ।


प्रतिक्रिया