कोपा अमेरिका : अर्जेन्टिना र चिली बराबरीमा,पाराग्वेको पुनरागमन जित

असार १, २०७८ | काठमाडौं

कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दा बोलिभियामाथि पाराग्वेले पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा खुम्चिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो ।

ब्राजिलमा आज बिहान भएको खेलमा पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर बोलिभियाले १० खेलाडीमा समेटिएपछि त्यो अग्रतालाई जोगाउन सकेन ।

यसअघि आजै भएको पहिलो खेलमा पुरै अवधिभर दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १–१ को बराबरी खेल्दै अर्जेन्टिनाले चिलीसँग अंक बााडेको छ । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको चिलीले ५७ औं मिनेटमा खेल बराबरी गर्यो । आर्टुरो भिडालको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्दै अंक खोसेका हुन् । त्यसपछि पनि अर्जेन्टिनाले पाएको अवसर सदुपयोग गर्न सकेन र खेल १–१ को बराबरीमा सकियो । 


प्रतिक्रिया