अष्ट्रेलियाले आज भारतविरुद्ध पहिलो टी–२० म्याच खेल्दै

आश्विन ४, २०७९ | काठमाडौं

भ्रमणकारी टोली अष्ट्रेलियाले आज भारतविरुद्ध पहिलो टी–२० म्याच खेल्दैछ । खेल मोहालीस्थित बिन्द्रा स्टेडियममा राति सवा ७ बजे शुरु हुनेछ । यी दुईले ३ म्याचको टी–२० सिरिज खेल्नेछन् । अष्ट्रेलिया र भारतले २३ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । जसमा भारतले १३ मा जित हात पार्दा कंगारु टोलीले ९ मा जित दर्ता गरेको छ । १ खेल बिना नतिजा सकिएको थियो । तर, भारतीय भूमिमा भएको स्पर्धामा अष्ट्रेलियाले ३ मा जित र ४ मा हार बेहोरेको आँकडा छ ।

एशिया कपमा खराब प्रदर्शन गरेको भारत त्यसलाई भुलाउन पनि आज अष्ट्रेलियाविरुद्ध जितका साथ सिरिजमा खाता खोल्न चाहन्छ । पाकिस्तान र श्रीलंकासँग पराजित भारत सुपर फोरबाटै बाहिरिएको थियो । उता, अष्ट्रेलियाले भने न्युजिल्याण्डविरुद्धको ३ म्याचको वान डे सिरिज क्लीन स्वीप गरेको थियो ।

भारतले अष्ट्रेलियासँगको सिरिजका लागि अश्रदीप सिंहलाई विश्राम दिएको छ । जसप्रित बुमराह र हर्सल पटेलले कमब्याक गर्नेछन् । ब्याटिङमा के. एल राहूल, बिराट कोहली, रिसब पन्त र सूर्य कुमार यादवसँगै कप्तान रोहित शर्मा पनि हुनेछन् ।

आरोन फिन्चको कप्तानीमा रहेको अष्ट्रेलिया पनि स्टीभ स्मीथ, ग्लेन म्याक्सवेल र जोस इङलिसको फर्ममा निर्भर रहने पक्का छ । बलिङको आक्रमण प्याट कुमिन्स, जोस हेजलउड र एडम जम्पाले सम्हाल्दा यसपटक टीममा मिचेल स्टार्क र डेभिड वार्नर छैनन् ।

सिरिजलाई टी–२० विश्वकपको तयारीका रुपमा पनि दुबै टीमले लिएका छन् । 


प्रतिक्रिया