ए लिगमा आज मच्छिन्द्र र जावलाखेल भिड्दै

जेष्ठ १०, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड भन्दा ३ अंकले पछि छ । उ ३४ अंक जोडेर दोस्रो स्थानमा छ । जावलाखेल ३३ अंकसहित तेस्रो स्थानमा छ । मच्छिन्द्र र जावलाखेल दुवै टोली आज १० औं जितको खोजीमा हुनेछन् ।

त्यसअघि दशरथ रंगशालामै दिउँसो २ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यूरोड टीम एनआरटी भिड्ने छन् । आर्मी आठौं जित निकाल्ने योजनामा हुँदा, एनआरटी छैंटौं जितको खोजीमा हुनेछ । पाँचौं स्थानमा रहेको आर्मीको २९ अंक छ । एनआरटी २३ अंक जोडेर ११ औं स्थानमा छ ।

उता, ललितपुरको च्यासलस्थित मैदानमा दिउँसो ३ बजे हुने खेलमा विभागीय टोली एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ सातौं जितको खोजीमा हुँदा, संकटा छैंटौं जित निकाल्न चाहन्छ । २३ अंक जोडेको एपीएफ १० औं स्थानमा छ । समान अंक जोडेको संकटा १२ औं स्थानमा छ । 


प्रतिक्रिया