बुटवल मेयरकप फुटबल प्रतियोगिता माघ २५ बाट

माघ २३, २०८० | तिलोत्तमा

बुटवलमा अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

प्रतियोगितामा सामुदायिक तर्फ १५ र संस्थागत तर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने उपमहानगरपालिकाले जनाएको छ । 

बुटवल उपमहानगर नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवल–११ स्थित फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल–१३ को जबइ खेल मैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताउनुभयो । 

उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने, खेल मैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताउनुभयो । 

आगामी दिनमा अन्य धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने उहाँको भनाई छ । 

प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थी मात्रै सहभागी हुने पाउने छन् । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमिफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । 


प्रतिक्रिया