बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्यूरोड टिम एनआरटीलाई

चैत्र ३, २०८० | सुनसरी

धरानमा आयोजित २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्यूरोड टिम एनआरटीले जितेको छ ।

सुनसरीको धरान रंगशालामा मोरङ जिल्ला फुटबल संघको टोलीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो ।

एनआरटीले खेलको ७ औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेको गोल मार्फत अग्रता लिएको थियो । ४४ औं मिनेटमा मोरङको टिमका लागि उमेश कार्कीले गोल गर्दै बराबरी गरेका थिए ।

५० औं मिनेटमा सरोज तामाङले गोल गरेसँगै एनआरटीले जित हात पारेको हो । उपाधि विजेता एनआरटीले ट्रफी सहित १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा पहिलो पटक फाइनलमा पुगेको मोरङले उपविजेता बन्दै ५ लाख रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा एक भारतीय सहित ८ टोलीले सहभागीता जनाएका थिए ।  


प्रतिक्रिया