पहिलो सेमिफाइनलमा चर्च ब्वाइज र भुटानी टोली प्रतिस्पर्धा गर्दै

माघ २३, २०८१ | सुनसरी

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आज सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले भुटानको आरटीसी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

सुनसरीको धरान रंगशालामा हुने चर्च ब्वाइज र आरटीसीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि चर्च ब्वाइजले उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

भुटानको आरटीसीले भने राष्टिय जागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा एनआरटीले भारतको युनाइटेड खर्साङ फुटबल क्लबको सामना गर्नेछ । 

साविक विजेता एनआरटीले मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

भारतको यूके एफसीले भने आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल यही माघ २६ गते हुनेछ । 

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने र विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 


प्रतिक्रिया