हङकङलाई हराउँदै नेपाल एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश

वैशाख ३, २०८१ | काठमाडौं

नेपाल एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

समूहचरणको तेस्रो खेलमा आज हङकङलाई पराजित गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको हो । लगातार तीन जितपछि ६ अंकसहित नेपाल समूह ए को अंकतालिकाको पहिलो स्थानमा छ ।

दुई खेल खेल्न बाँकी रहेको साउदी अरेविया दुई अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । समूहका अन्य टोली मलेसिया, कतार र हङकङले तीन खेलबाट दुई÷दुई अंक मात्र जोडेका छन् ।

यो अवस्थामा उनीहरुको नतिजाले नेपाललाई पछाडी पार्न सक्ने देखिदैन । नेपालले ओमानको अल अमेरत क्रिकेट मैदानमा आज हङकङलाई ८ विकेटले पराजित ग¥यो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ औं ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३२ तथा आसिफ शेखले ४० रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान रोहितकमार पौडेलले नट आउट २५ र सुन्दिप जोराले १९ रन बनाए ।

त्यसअघि हङकङले १७ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो । सो क्रममा नेपालका अभिनाश बोहोराले ३ विकेट, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए ।    


प्रतिक्रिया