युरोकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु हुँदै

असार २१, २०८१ | काठमाडौं

जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । क्वाटरफाइनलमा पाँच पूर्वविजेतासहित साविक उपविजेता इंग्ल्याण्ड आमने सामने हुनेछन् ।

क्वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा ३÷३ पटकको च्याम्पियन स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको घरेलु टोली जर्मनी उपाधि जित्ने लक्ष्यमा छ ।

 उसले नकआउट चरणमा डेनमार्कलाई पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । यता, समूह चरणमा साविक विजेता इटली, अल्वानिया र क्रोएसियालाई पराजित गरेको स्पेनले नकआउट चरणमा डेब्यू टोली जर्जियालाई हराउँदै क्वाटरफाइनल पुगेको हो ।

आजै हुने दोस्रो क्वाटरफाइनलमा अर्का दुई पूर्वविजेता पोर्चुगल र फ्रान्स भिड्ने छन् । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । सन् २०१६ मा फ्रान्सलाई फाइनलमा हराएर पोर्चुगल च्याम्पियन बनेको थियो । 

फ्रान्स २०१८ को विश्वकप विजेता र २०२२ को विश्वकपको उपविजेता हो । तर, सन् २००० पछि फ्रान्सले युरो भने जित्न सकेको छैन । अहिलेसम्म फ्रान्सले दुई र पोर्चुगलले एक पटक युरोको उपाधि जितेका छन् । 

नकआउट चरणमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दा, पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । यी दुई खेलका विजेता सेमिफाइनलमा भिड्ने छन् ।


प्रतिक्रिया