‘विपद् व्यवस्थापनका लागि सरकारले गरेका कामहरु किन प्रभावकारी भएन’

असार २३, २०८१

मनसुन शुरु भएयता निरन्तरको वर्षाका कारण यो बर्ष पनि मानवीय र भौतिक क्षति हुने क्रम बढ्दै गएको छ । विपद् व्यवस्थापनका लागि सरकारले गरेका कामहरु प्रभावकारी नहुँदा क्षति बढ्दै गएको हो । पछिल्लो तथ्याङ्क अनुसार बाढी, पहिरो र चट्याङका कारण ६७ जनाको मृत्यु भइसकेको छ । विपद् पूर्व तयारी गरेको सरकारले अहिले सुरक्षा निकाय लगायतलाई परिचालन गर्दै राहत र उद्धारका लागि काम भइरहेको बताएको छ । तर प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले विपद् व्यवस्थापनको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस वर्षको मनसुन गत जेठ २८ गते शुरु भएको हो । सरकारी तथ्याङ्क अनुसार मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङका कारण आइतवार अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ८३ जना घाइते भएका छन् ७ जना बेपत्ता भएका छन् । २ सय ६१ घरपरिवारका एक हजार २० जना विस्थापित भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पहिरोका कारण मानवीय क्षति बढी भएको छ । पूर्व सूचना प्रणाली लगायत विधिहरु अवलम्बन गरिएको र जनचेतना पनि अभिवृद्धि भएकाले बाढीबाट हुने क्षति कम भएको भट्टराईको भनाई छ ।

चट्याङबाट पनि ठूलो संख्यामा मानविय क्षति भएको भट्टराईको भनाई छ । मनसुन शुरु भएयता चटयाङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट हुने क्षति न्यूनिकरणका लागि अध्ययन गरेर कार्ययोजना बनाएरै अघि बढ्नुपर्ने देखिएको प्रवक्ता भट्टराईले बताए ।

जलवायु परिवर्तनका असरका कारण समेत विपद्जन्य जोखिम बढाएको बताइन्छ । यस्तो अवस्थामा सरकारले विपद् व्यवस्थापनका लागि पूर्व तयारी गरेको बताएपनि प्रभावकारी देखिदैन । बाढी–पहिरोको कहरले देशका विभिन्न भागमा जनजीवन प्रभावित भएका छन् । विपद्का बेला सरकारको काम प्रभावकारी नभएको बिषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै कंग्रेस सांसद शंकर भण्डारीले बर्षात्का समयमा उद्धार कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले बाढी पहिरोका कारण राजमार्गहरु अवरोध भएको बिषय उठाउँदै आवागमनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । माओवादी केन्द्रकी सांसद छिरिङल्हामु लामा तामाङले कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको र जनता प्रत्यक्ष मारमा परेको बताइन् । उनले राजमार्ग अवरुद्ध हुँदा कर्णालीका बिरामी जनता समेत समयमा अस्पताल पुग्न नसकेको बताइन् । बिरामीको जीवन रक्षाका निम्ति वैकल्पिक उपाय खोजी गर्न र मौसम अनुकुल हुनासाथ रेडी टु मुभको अवस्थामा रहेर संयन्त्र परिचालन गर्न सम्बन्धित मन्त्रालयको ध्यानाअर्षण गराइन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कतिपय भागमा भइरहेका विकास निर्माण कार्यका कारण समेत विपद्को समयमा समस्या उत्पन्न गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अब्दुल खानले विकासका कामहरु विपद् र प्रकोपमैत्री बनाउनुपर्ने बताए ।

बर्षात्को समस्यामा हरेक बर्ष जसो बाढी र पहिरोका कारण मानवीय क्षतिका साथै भौतिक संरचनामा समेत ठूलो क्षति पु¥याउँदै आएको छ । त्यस्तै, वस्तीहरु डुबानमा पर्ने समस्या देखिदै आएका छन् । विपद् व्यवस्थापनाका लागि सुरक्षा निकायको तर्फबाट विभिन्न पहल भएका छन् । त्यसका लागि ३१ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको बताइएको छ । जसमध्ये नेपाल प्रहरीले १४ हजार जनशक्ति खटाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की विपद्का बेलामा नागरिक आफैंपनि सतर्क र संवेदनशील हुनुपर्ने बताउँछन् ।

विपद् व्यवस्थापनका लागि सरकारले कार्ययोजना नै बनाएको बताइएको छ । यो बर्ष वर्षा बढी हुने प्रक्षेपण भएकाले सरकारले मनसुन प्ुर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट समेत तयार पारेको छ । तर पनि विपद्का घटनाबाट मानवीय र भौतिक क्षति न्युनिकरण हुन सकेको छैन । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् । वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरेका छन् । 


प्रतिक्रिया