कोटाको मल लैजान सहकारीको आनाकानी

पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा रेल र्‍याकबाट डीएपी मल अनलोड गरिँदै । फाइल तस्बिर : रेडियो कान्तिपुर । 

असार २४, २०८१ | पर्सा

रोपाइँ सुरु भईसक्दा पनि पर्साको वीरगञ्ज महानगरकै अधिकांश वडाका सहकारीले कृषि सामग्री कम्पनीबाट कोटाको मल लगेका छैनन् । 

कम्पनीसँग पर्याप्त मलको मौज्दात रहेको अवस्थामा महानगरकै सहकारीहरुले आफ्नो कोटाको मल लैजान आनाकानी गरेपछि मलको अभाव भएको गलत सन्देश गएको वीरगञ्जस्थित कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेले बताउनुभयो । ‘बजारमा कम्पनी र साल्ट ट्रेडिङले मल दिएनन् भनेर नकारात्मक हल्ला छ,’ उहाँले भन्नुभयो, ‘तर एउटा होइन ३ वटा लटको कोटाको मल महानगरकै विभिन्न वडाका सहकारीले लैजान रुची देखाएका छैनन् ।’ 

पाण्डेका अनुसार, वडा नम्बर १५, १६, १९, २१, २६, २७, ३१ र ३२ का सहकारीहरुले अझै पनि डीएपी, पोटास र युरिया मल लैजाने प्रकृयानै अघि बढाएका छैनन् । यी महानगरका ग्रामीण वडा हुन् । प्रत्येक वडामा मल वितरणको जिम्मेवारी लिएका १/२ वटा सहकारी मात्रै सकृय छन् । 

वीरगञ्ज महानगरपालिकाको कार्यालयले यस अघिनै २ पटक डीएपी, १ पटक पोटास र १ पटक युरिया मलको कोटा निर्धारण गरिसकेको छ । ‘भारत तथा तेश्रो मुलुकबाट मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा स्थानीय तहका सहकारीलाई कोटा निर्धारण गर्ने गरिन्छ । 

वीरगञ्जको हकमा महानगरपालिकाको कार्यालयले मातहतका वडाका सहकारीहरुलाई कोटा निर्धारण गर्छ,’ उहाँले भन्नुभयो, ‘तर ४ वटा कन्साइन्मेन्टको मलमा कोटा निर्धारण भईसक्दा पनि सहकारीहरुले मल लग्न रुची देखाएका छैनन् ।’

जेठ २० यता महानगरपालिकाको कार्यालयले डीएपी मलको २ पटक, पोटास मलको एक पटक र आइतबार युरिया मलको गरी ४ पटक कोटा निर्धारण गरिसकेको प्रादेशिक कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । 

यस अवधिमा ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएको आदित्य बिरला ग्रुपले २० हजार टन डीएपी, भारतको इन्डियन पोटास लिमिटेडले २५ हजार टन डीएपी, सन ग्रुपले ३० हजार टन युरिया र आइपीएलले १० हजार टन पोटास मल ल्याईसकेको पाण्डेले जानकारी दिनुभयो । 

मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा यसरी सहकारीहरुलाई कोटा निर्धारण गर्ने परिपाटी रहेको छ । आइपीएलकै अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया मल भित्रिने क्रममा युरिया मल बोकेर आएको पहिलो रेल्वे र्‍याक सोमबार रक्सौल रेल्वे स्टेशनमा आईपुगेको पाण्डेको भनाई छ । 

त्यसैगरी, नेपालले भारतसँग ‘जीटूजी’ प्रकृयाबाट खरिद गरेको २५ हजार टन डीएपी मल कोलकाता बन्दरगाहबाट नेपाल आउन तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

यस बाहेक अर्को कन्साइन्मेन्टबाट आइपीएलले थप २५ हजार टन डीएपी मल ल्याउन लागेको र हाल यो समुन्द्री मार्गमा रहेको कार्यालय पाण्डेले बताउनुभयो । उहाँका अनुसार यी कन्साइन्मेन्टका मल भित्रिए लगत्तै पुनः नयाँ कोटा निर्धारण समेत हुनेछ । 

कम्पनीसँग मधेश प्रदेशमा हाल ९ हजार १ सय ७२ टन युरिया, २ हजार १ सय ६८ टन डीएपी र २ हजार ६ सय टन पोटास मल मौज्दात रहेको पाण्डेले जानकारी दिनुभयो । डीएपी र युरिया मल थप भित्रिने क्रममा रहेकाले जारी वर्षे धान बाली सिजनमा मलको अभाव नहुने उहाँले दाबी गर्नुभयो ।


प्रतिक्रिया