अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

असार २१, २०८१ | काठमाडौं

इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउदै साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई ४–२ गोल अन्तरले हराएको हो ।

यसअघि निर्धारित समयमा इक्वेडरले पेनाल्टी मिस गरेपनि दोस्रो हाफको इन्जुरी समयमा केभिन रोड्रिग्वेजले गोल गर्दै इक्वेडलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

अमेरिकाको ह्युस्टनस्थित एनआरजी रंगशालामा बिहान भएको क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफको ३५ औं मिनेटमा लिजान्द्रो मार्टिनेजको गोलमा अग्रता लिएको थियो । ६२ औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टी इनर भ्यालेन्सियाले खेर फालेका थिए ।

पेनाल्टी शुट आउटमा पहिलो प्रहार गर्न आएका अर्जेन्टिनी लियोनेल मेस्सीले पनि मौका खेर फाले । इक्वेडरका एन्जेल मिना र एलन मिण्डाले पेनाल्टी खेर फाल्दा जोन इबोह र जोर्डी काइसिडोले गोल गरे । 

अर्जेन्टिनाबाट जुलियन एलभारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले गोल गरे । प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा भोलि क्यानडा र भेनेजुयलाबीच स्पर्धा हुनेछ । 


प्रतिक्रिया