लुम्बिनी लायन्सले एनपीएलका लागि एक्स्ट्राटेक ओभलमा प्रशिक्षण गर्ने
मंसिर ३, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आगामी मंसिर १५ गतेदेखि हुने लिगका लागि प्रशिक्षण तयारी थालेको छ ।
उसले प्रशिक्षण स्थलका रूपमा रूपन्देहीमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान रोजेको छ । मैदानमा मुख्य प्रशिक्षक नन्दन फार्डिसले नेपाली खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । हाम्रो बुद्धभूमि, हाम्रो लुम्बिनी भन्ने नाराका साथ अघि बढेको टिमको उद्देश्य लुम्बिनीलाई खेलका माध्यमबाट संसारभर चिनाउने रहेको क्लबका मालिक ईश्वर जीसीले बताए ।
उनले टिमका नाममा लुम्बिनी जोडिनुले नै सकारात्मक तथा पवित्र भाव सिर्जना गर्ने भएकाले खेलाडीलाई ऊर्जासमेत हुने विश्वास लिएको बताए ।यसअघि गत शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको उपवनस्थित मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अघि लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको थियो ।