नेसन्स लिगमा फ्रान्ससँग इटाली स्तब्ध

मंसिर ३, २०८१ | काठमाडौं

एड्रिन राबियोटको दुई गोल मद्दतमा फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलमा आइतबार इटालीलाई पराजित गरेको छ । गएराति सान सिरो स्टेडियममा भएको खेलमा फ्रान्सले घरेलु टोली इटालीलाई ३–१ गोलले हराएको हो । 

खेलको दोस्रो मिनेटमा राबियोटले गरेको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । फ्रान्सले दोस्रो गोल भने उपहार स्वरुप पाएको थियो । खेलको ३३ औं मिनेटमा फ्रान्सका डिग्नेको फ्रि–किक क्रसबार हुँदै इटालियन गोलकिपर गुग्लिएल्मो भिकारियोलाई लाग्दै गोल हुन पुग्यो । 

३५ औं मिनेटमा एन्ड्रिया क्याम्बियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको ६५ औं मिनेटमा राबियोटले हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाए । 

यो जितसँगै फ्रान्स लिग–वानको ग्रुप–टूको विजेता बनेको छ । फ्रान्सले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थान कब्जा गर्‍यो । सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो ।

यस्तै, सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० गोलले पराजित गरेको छ । हंगेरीको बुडापेस्टमा भएको खेलमा इजरायलका लागि ८६ औं मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका यार्देन सुवाले निर्णायक गोल गरे । नेसन्स लिगमा पहिलो जित हात पारेको इजरायल रेलिगेशनबाट भने जोगिन सकेन ।

इंग्ल्यान्डले भने लिग–बी ग्रुप–टूमा आयरल्यान्डलाई ५–० गोलले हराएको छ । दश खेलाडीमा सीमित आयरल्यान्डविरुद्धका सबै पाँच गोल दोस्रो हाफमा भएका हुन् । यसै समूहमा ग्रिसले फिनल्यान्डमाथि २–० गोलको जित निकालेको छ । 


प्रतिक्रिया