सभापति कप फुटबलको दोस्रो सेमिफाइनलमा आज

माघ १५, २०८१ | काठमाडौं

सभापति कप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि न्यूरोड टीम एनआरटीले आज आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो सेमिफाइनल साँझ ५ बजे सुरु हुनेछ । 

आजको खेलको विजेताले उपाधिका लागि आगामी बिहीबार संकटा क्लबको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्र क्लबलाई पेनाल्टीमा ८–७ गोलले हराउँदै संकटाले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

आयोजक टिमको नेतृत्व विकेश कुथुले गर्नेछन् भने एनआरटीका कप्तानी अञ्जन विष्टले सम्हाल्नेछन् । दुवै टिम लयमा रहेकाले दोस्रो सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । 

प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लबले सहभागिता जनाएका छन् । 

सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले २६ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, हरेक टोलीलाई प्रत्येक खेल बराबर ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोल किपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार तथा प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघले जनाएको छ ।


प्रतिक्रिया