नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड महेन्द्र माविलाई

माघ १९, २०८१ | दार्चुला
दार्चुलाको महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा महेन्द्र माध्यमिक विद्यालय खलंगा प्रथम भएको छ । पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदक सहित महेन्द्र मावि खंलगाले उपाधि चुमेको हो ।
महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन नमूना माध्यमिक विद्यालय धापको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिता माघ १५ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा द्धितीय भएको धापले ११ स्वर्ण, ११ रजत र ५ कास्य पदक प्राप्त गरेको महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले बताउनुभयो ।
त्यस्तै, तेस्रो भएको मालिकार्जुन मावि निसिलले २ स्वर्ण, ६ रजत र २ कास्य पदक प्राप्त गरेको छ । चौंथो हुने राष्ट्रिय मावि दत्तुले २ स्वर्ण, १ रजत र ५ कास्य पदक प्राप्त गरेको शिक्षा अधिकृत जोशीले जानकारी दिनुभयो । महाकाली नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
लेकम गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय तहमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सम्पन्न भईसकेका छन् । यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन १० देखि १५ गतेसम्म मार्मा गाउँपालिकामा सञ्चालन गरिने जिल्ला खेलकुद समिति अध्यक्ष मानसिह बुढाथोकीले बताउनुभयो ।