केपी ओली कप फुटबल प्रतियोगिता आज सुरु हुँदै

फाल्गुन ११, २०८१ | काठमाडौं
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण काठमाडौंमा आज सुरु हुँदैछ । फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, दुई विदेशी र एक आयोजक गरी ९ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लब र विदेशी क्लब ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल सम्मको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा र सेमिफाइल तथा फाइनल भने दशरथ रंगशालामा हुनेछ ।
दोस्रो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा आयोजक टिम केपी ओली एफसी र एनआटीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो तीन दिनको खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ ।
यो वर्षदेखि विजेताले पाउने नगद पुरस्कार राशि वृद्धि गरिएको । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । गत वर्ष विजेताले ११ लाख रुपैयाँ पाएको थियो ।
त्यस्तै, उत्कृष्ट खेलाडीले एक लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल कान्तिपुर टेलिभिजन म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।