युवा लक्षित कार्यक्रममा सहभागिता बढाउनु पर्नेमा जोड

फाल्गुन ११, २०८१ | तिलोत्तमा

स्थानीय सरकारले प्राथमिकता दिएर युवा लक्षित कार्यक्रममा लगानी गरेपनि प्रशस्त मात्रामा सहभागिता नहुँदा प्रतिफल प्राप्त हुन नसकेको सरोकारवालाले बताएका छन् । लगानी सदुपयोगका लागि यस्ता कार्यक्रममा युवाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको दोस्रो युवा सम्मेलनमा सहभागी कर्मचारीले युवा लक्षित कार्यक्रम सञ्चालन गरेपनि प्रतिफल नआएको बताएका थिए । सहभागी युवाले भने स्थानीय सरकारले आफूहरुलाई समेटन चासो दिएको गुनासो व्यक्त गरेका थिए । 

तिलोत्तमा नगरपालिकाका युवा शाखाका अधिकृत माधव प्रसाद पोखरेलले युवालाई नेतृत्व तहमा ल्याउने गरी कार्यक्रम तय गरिनुपर्नेमा जोड दिनुभयो । तर, पालिकाका जनप्रतिनिधिमा यस्तो जागरुकताको कमीले युवा लक्षित कार्यक्रममा सहभागिता बढाउन नसकिएको उहाँले प्रष्ट पार्नुभयो । ‘युवाका लागि प्रशस्त कार्यक्रम सञ्चालन गर्न नसकेको हामी पनि स्वीकार्छौं,’ उहाँले भन्नुभयो, ‘नवीनतम विचार र शैलीका कार्यक्रम लागू गरेपनि युवाको सहभागिता शून्य बराबर हुनु चिन्ताको विषय हो ।’ 

पालिकामा अध्ययन र अनुसन्धानका लागि आउने युवालाई आफ्ना गतिविधि मात्र जानकारी गराउने भन्दा पनि उनीहरुलाई आर्थिक सहयोग समेत उपलब्ध गराएर हौसला प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । तिलोत्तमालाई युवामैत्री पालिका बनाएर हरेक क्षेत्रको उनीहरुलाई नेतृत्व तहसम्म पु¥याउन आफूहरु सकारात्मक रहेको पोखरेलको भनाई थियो ।

राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष माधव ढुंगेलले सबैलाई समेटने गरी अघि बढ्नुपर्ने बताउनुभयो । युवालाई नेतृत्वमा पु¥याउन सामूहिक कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानव शरीर पाउनुनै महत्वपूर्ण भएकाले सबैले जीवनको महत्व बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘स्थानीय सरकारले निर्माण गरेको कानून सबैका लागि हुने भएकाले हितकारी बनाएर बालकदेखि वृद्धसम्मलाई समेट्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘समग्र युवालाई स्थानीय संरचना, सम्भावना, समितिगत कार्य, सम्भाव्यता बुझाउनुपर्छ ।’

युवा उद्यमी अंकित भुषालले युवाहरुले आफ्नो मार्ग निर्धारण गर्न नसक्दा भविष्य सोंचेजस्तो बन्न नसकिरहेको बताउनुभयो । अवसरको खोजीमा रहेका युवा पहिचान गरेर पालिकाले उनीहरुलाई आवश्यक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले केही गरिदिएन भनेर पन्छिन्छौं र विदेशको यात्रा तय गर्छौैं, त्यो गलत हो,’ उहाँले भन्नुभयो, ‘अध्ययन गर्न विदेश जानुस्, सिक्न जानुस् तर उपभोग गर्न नेपाल जति उपयुक्त ठाउँ अन्यत्र छैन ।’ 

अहिलेका युवामा अध्ययनको कमी भएको भन्दै भुषालले नयाँ काम सुरु गर्नका लागि प्रविधि, संसारका ठूला मानिसको कथा, नेपालकै उदाहरणीय व्यक्तिको संघर्षलाई नियाले पुग्ने बताउनुभयो । सरकारको मुख ताकेर बस्ने बेला नरहेको र युवाले अग्रसरता लिनका लागि स्वयं आफ्नो सक्रियतालाई बढाउनुपर्ने उहाँले बताउनुभयो । 

तिलोत्तमा नगरपालिका अन्तर्गत सामाजिक विषय समिति संयोजक रवि सेन्चुरीले पालिकाभित्रका ६६ हजार भन्दा बढी युवाको प्रतिनिधित्व हुनेगरी युवालाई आशा, भरोसा दिलाउन पालिका प्रयासरत रहेको दाबी गर्नुभयो । 

तीन वर्षदेखि निरन्तर युवाका विषयमा विभिन्न छलफल सञ्चालन गरेर युवाको सहभागिता बढाउन लागिपरेको उहाँको भनाई छ । ‘युवालाई टाढा राखेर वा बहिष्कार गरेर पालिकाको विकास हुँदैन भन्ने निष्कर्ष हाम्रो हो,’ उहाँले भन्नुभयो, ‘युवालाई वर्तमान साझेदारका रुपमा साथै लिएर अघि बढ्ने प्रयास पालिकाले गरिरहेको छ ।’ सम्मेलनमा तिलोत्तमा नगरपालिका भित्रका २ सय भन्दा बढी युवाको सहभागिता थियो । 


प्रतिक्रिया