एफए कपको उपाधि क्रिस्टल प्यालेसलाई

जेष्ठ ४, २०८२ | काठमाडौं
म्यानचेस्टर सिटीलाई पराजित गरी क्रिस्टल प्यालेसले एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै क्रिस्टल प्यालेसले पहिलो पटक इंग्लिस घरेलु फुटबलको सबैभन्दा ठूलो कप उपाधि जितेको हो ।
प्यालेसको जितमा इबेरची इजे नायक बने । इजेले खेलको १६ औं मिनेटमा गरेको गोल प्यालेसको जितमा निर्णायक बन्यो । यसअघि प्यालेस दुईपल्ट एफए कपको उपविजेतामै सीमित रहेको थियो ।
प्यालेसको जितमा उत्कृष्ट बचाउ गरेका गोलरक्षक डिन हेन्डरसनको पनि महत्वपूर्ण योगदान रह्यो । उनले पहिलो हाफमै मउरम मासआउनको पेनाल्टीलाई बचाएका थिए ।
पराजित सिटी भने उपाधिविहीन भएको छ । सिटीले बलमाथि नियन्त्रण राखेपनि गोल गर्न भने सकेन । गत वर्ष पनि सिटी एफए कपको फाइनलमा पराजित भएको थियो ।