सुपर थ्रीमा नेपालले यूएईसँग खेल्दै

जेष्ठ ५, २०८२ | काठमाडौं

नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’मा संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको तेर्डथाई क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

नेपाल र यूएईका लागि आजको खेल निर्णायक मानिएको छ । नेपालले आजको खेलमा यूएईलाई हराउन सके विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यदि आज नेपाल पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिनेछ । 

नेपालको अर्को खेल बाँकी रहेपनि अंक तालिकामा यूएई अगाडि छ । त्यसैकारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । अंक तालिकामा नेपालको पाँच अंक रहँदा यूएईको ६ अंक रहेको छ । टी–२० आई वरीयतामा नेपालभन्दा यूएई बलियो छ ।

यसअघि सुपर थ्री अन्तर्गत हिजो भएको पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग यूएई पराजित भएको थियो । थाइल्याण्ड भने एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ ।

यसअघि समूह चरणमा हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल ‘सुपर थ्री’ मा पुगेको थियो । हङकङ नेट रन रेटमा नेपालभन्दा अगाडि रहे पनि प्रतियोगिताको नियामावली अनुसार सर्वाधिक खेलमा विजय हात पार्ने टोलीका रुपमा नेपाल दोस्रो चरणमा स्थान बनाएको हो ।

समूह चरणमा नेपालले २ खेल जितेको छ भने हङकङले १ खेलमात्र जितेको छ । संयोगले हङकङले नेपाललाई नै पराजित गरेको थियो । नेपालले बहराइनसँग वर्षाले प्रभावित दुवै खेल जितेको थियो । त्यही नै नेपाललाई ‘सुपर थ्री’ मा पु¥याउने आधार बनेको थियो । 


प्रतिक्रिया