मुलुकका विभिन्न स्थानमा वर्षा, हावाहुरी र चट्याङले धनजनको क्षति
चैत्र ३, २०८२ | काठमाडौं
मुलुकका विभिन्न स्थानमा वर्षा, हावाहुरी र चट्याङले क्षति पु¥याएको छ । उदयपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–८ थलियाटारमा हावाहुरीपछि रुखले च्यापिएर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ । हावाहुरी पछि रुखले च्याप्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।
हावाहुरीका कारण खोटाङमा सरकारी, नीजि संघसंस्था तथा दर्जनौं व्यक्तिका घरमा क्षति पुगेको छ । खोटाङबजारस्थित खानेपानीको फिल्टर मेसिनमा क्षति पुगेको छ । विभिन्न क्षेत्रमा करिव २६ वटा भन्दा बढी घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उता, हावाहुरीका कारण ताप्लेजुङमा पनि दर्जनौं घर र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । हावाहुरीका कारण १४ वटा घरमा पूर्ण र १३ वटामा आंशिक क्षति भएको समृद्ध सिदिङवा नागरिक एकता समाजले जनाएको छ । क्षतिको विवरण संकलन गर्ने काम भईरहेको हाम्रा सहकर्मीले जनाएको छ ।
यसैबीच, हावाहुरीका कारण धनकुटामा अवरुद्ध भएको विद्युत आपूर्ति आंशिक रुपमा सञ्चालनमा आएको छ । विद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार र मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आएको छ । महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत आपूर्ति सुचारु गरिएको जनाइएको छ ।
हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा सदरमुकाम धनकुटा बजारमा अझै विद्युत सेवा अवरुद्ध छ । धनकुटा नगरपालिकाको निगालेको एकै ठाउँमा सातवटा पोल भाँचिनुका साथै त्यहाँ जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ । धनकुटा वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवका अनुसार क्षतिग्रस्त पोल र ट्रान्सफर्मर पुनःस्थापना गर्ने काम भइरहेको छ ।










