प्राप्त जनमतलाई कदर गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न रास्वपाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

चैत्र ३, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई आग्रह गरेको छ । 

ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सो पार्टीका शीर्ष नेताहरुले निर्वाचनपछि इतिहास लेख्ने मौका प्राप्त भएकाले सोही अनुसार अघि बढ्न आग्रह गरेका हुन् । उपसभापति डीपी अर्यालले मुलुकको संविधान, कानून र पार्टीको घोषणापत्रलाई पालना गर्नुपर्ने बताउनुभयो ।

पार्टीमा आन्तरिक किचलो नगरी जनतालाई सकारात्मक सन्देश दिनुपर्ने उहाँको भनाइ थियो । उपसभापति अर्यालले पार्टी नेतृत्वको मात्र नभई हरेक सांसदको भूमिका देख्नुपर्ने बताउनुभयो ।

अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले विगतमा अन्य दलले पाएको जनादेश जोगिन नसकेको अवस्थाबारे सचेत रहनुपर्ने बताउनुभयो । सांसदको भूमिकाबारे स्पष्ट हुनुपर्ने र सरकारलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो । जनादेशलाई सम्हालेर अघि बढ्नुपर्ने उपसभापति वाग्लेले उल्लेख गर्नुभयो ।

कार्यक्रमको पहिलो दिन आज सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह भने सहभागी हुनुभएको छैन । रास्वपाले पार्टीका नवनिर्वाचित सांसदका लागि दुई दिनको अभिमुखिकरण आयोजना गरेको हो । 


प्रतिक्रिया