एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड पुस २३ मा हुने

पुस १३, २०८२ | काठमाडौं

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२ औं संस्करण यहि पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज पत्रकार सम्मेलन गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो । 

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित भएकोे थियो । 

यसैगरी स्पोट्र्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रुपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोननयमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ । 

यसैगरी आजकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको छ । 

यस विधाको प्रतिस्पर्धा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोट्र्स समिट हुनेछ । 

अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । 


प्रतिक्रिया