राखेपको १२४ औं बोर्ड बैठक सम्पन्न
पुस ९, २०८२ | काठमाडौं
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् राखेपका अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १ सय २४ औं बोर्ड बैठक सम्पन्न भएको छ ।
बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
दशौं राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।
यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पास गरेको छ ।
खो–खो विश्वकपमा उपविजेता भएको नेपाली पुरुष र महिला टोलीको पुरस्कारका लागि अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि पठाइसकेको र बजेट स्वीकृत हुनासाथ खेलकुद मन्त्रालयले खेलाडीहरुलाई वितरण गर्ने खेलकुदमन्त्री बब्लु गुप्ताले बताउनुभएको छ ।









