महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै नेपाल बाहिरियो
माघ १२, २०८२ | काठमाडौं
नेपाल आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो ।
१ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्माले चोटका कारण बीचमै मैदान छाडिन् । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए ।
रुबिना क्षेत्रीले १० रन जोडिन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । नेपालकी मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । नेपाल यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो ।
एक जित मात्र निकालेको नेपाल २ अंकमा सीमित भयो । यसैबीच, आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
समूह ए मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ए बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । सुपर सिक्सबाट शीर्ष चार टिमले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ ।









