अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु,८ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित

माघ १२, २०८२ | काठमाडौं

अमेरिकामा आएको शक्तिशाली हिउँदे आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीका कारण हालसम्म ८ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाका वाशिङ्टन डीसी, न्युयोर्क, टेक्सास लगायत राज्यमा भारी मात्रामा हिमपात हुँदा विद्युत सेवा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित बनेको बताइएको छ । 

आँधीका कारण टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । सो राज्यका २ लाख ५० हजार नागरिक विद्युत् विहीन भएको बीबीसीले जनाएको छ । यस्तै मिसिसिपीमा करिब १ लाख ५७ हजार मानिस प्रभावित छन् भने लुइजियाना राज्यमा १ लाखभन्दा बढी उपभोक्ताले विद्युत् सेवाबाट बञ्चित भएका छन् ।

 आँधीका कारण देशभरका विद्यालय तथा सडकहरु बन्द गरिएका छन् भने अधिकांश उडानहरु रद्द गरिएको समाचारमा जनाइएको छ । आँधीको प्रभावका कारण आज मात्र अमेरिकामा ३ हजार ६ सय ५० भन्दा बढी उडानहरु रद्द गरिएका छन् । यसअघि खराब मौसमका कारण गत साता १५ हजार ७ सय बढी उडान रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  


प्रतिक्रिया