प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशद्वारा कर्णाली प्रदेश ९ विकेटले पराजित

रेडियो कान्तिपुर संवाददाता

वैशाख १, २०८३ | काठमाडौं

गण्डकी प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । वीरगञ्जमा भएको खेलमा कर्णालीले दिएको ७३ रनको लक्ष्य गण्डकीले १३ दशमलव १ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो । 

उसका लागि सिबरिन श्रेष्ठले ४० रनको योगदान गरेका थिए । यसअघि विपिन खत्रीले ५ र अपराजित पौडेलले तीन विकेट लिएपछि गण्डकीले कर्णाली प्रदेशलाई ७२ रनको योगफलमा रोकेको थियो । अन्तिम म्याच खेलेको गण्डकीको यो चौथो जित हो । गण्डकीको टोली ९ अंकसहित प्रतियोगिता समापन गरेको छ र छैटौं स्थानमा रहेर जय ट्रफी खेल्ने सम्भावना कायम राखेको छ ।

यसैबीच, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले हराएको छ । हारपछि बागमती प्रदेशले पहिलो पटक जय ट्रफी गुमाएको छ । जितका कारण लुम्बिनीले शीर्ष छ मा पुग्ने संभावनालाई कायमै राखेको छ । 

२ सय ३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ९९ रनमा समेटियो । सो क्रममा लुम्बिनीका निर्मल गुरुङले १० ओभरमा ४ मेडन सहित २७ रन दिएर ५ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४५ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । 


प्रतिक्रिया