कान्तिपुर हाफ म्याराथानमा ४ हजारले सहभागिता जनाउने
वैशाख ४, २०८३ | काठमाडौं
कान्तिपुर हाफ म्याराथनमा यसपटक ४ हजार जनाले सहभागिता जनाउने भएका छन् ।
‘रन फर नेपाल’ नारासहित भोलि हुन लागेको कान्तिपुर हाफ म्याराथनमा यसपटक अहिलेसम्मकै सबैभन्दा बढीको सहभागिता हुन लागेको हो ।
यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्दै आएको म्याराथन १४ औं संस्करण हो ।
प्रतियोगितामा हाफ म्याराथन, कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले इतिहासमै सबैभन्दा धेरै सहभागिता सगै युवाको संख्या उल्लेख्य रहेकोले आफुहरु उत्साहित बनाएको बताए ।
स्वाँरका अनुसार यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिनेछ । कान्तिपुर हाफ म्याराथनको दुरी २१ द्यशमलव १ किमि हुनेछ । दुवै पुरुष र महिला विजेताले समान १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् ।
ेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिताको ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार जित्नेछन् । कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
यसपालिदेखि दौड पूरा गर्ने सबैलाई ‘फिनिसर पदक’ प्रदान गरिनेछ । कलेज रन विजेताले भने आईपीएलको फाइनल हेर्न जाने अवसर पाउने छ ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर दौड टुंगिने छ ।
कर्पोरेट एन्ड इन्फ्लुन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर तीनकुनेमै आएर टुंगिनेछ ।
कलेज रन तीनकुनेबाट कोटेश्वर हुँदै गठ्ठाघर चोक पुगेर सोही रुटमा फर्कनेछ ।










