भक्तपुरका ८ वटा स्थानीय क्लब कानूनी उपचारमा जाने

रेडियो कान्तिपुर संवाददाता

श्रावण २, २०७६ | काठमाडौं

भक्तपुर फुटबल संघले जिल्ला लिगमा आफूहरुलाई समावेश नगरी दर्ता नै नभएका क्लबलाई सहभागी गराएको भन्दै स्थानीय ८ वटा क्लब कानूनी उपचारमा जाने बताएका छन् । आठ वटै क्लबले आज पत्रकार सम्मेलन गर्दै दर्ता नै नभएका क्लबलाई सहभागी गराएको भन्दै स्थानीय ८ वटा क्लब कानूनी उपचारमा जाने बताएका हुन् ।

भक्तपुर फुटबल संघ, सत्यनारायण फुटबल संघ, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्व प्रि फुटबल कलब र दी वेष्ट टिमले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै संघको यस्तै रवैया जारी रहे आफूहरुले कानूनी बाटो रोज्ने बताएका हुन् । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका क्लबलाई जिल्ला लिगमा सहभागी गराउने नियम भएपनि संघले दर्ता नै नभएका क्लबलाई समावेश गराएको आरोप लगाएका छन् । जिल्ला लिगमा सहभागी १० मध्ये ४ वटा क्लब मात्र दर्ता भएका छन् भने ६ वटा क्लब दर्ता नै नरहेको उनीहरुको भनाई छ ।

संघ भित्रको अनियमितता र नीतिगत भ्रष्टाचारको छानबिन गर्न समेत उनीहरुले माग गरेका छन् । संघले मौखिक रुपमा ३ वर्षका लागि आफूहरुलाई कारबाही गरेको बताएपनि किन कारबाही गरियो भन्ने बारेमा आफूहरु अनभिज्ञ रहेको भक्तपुर फुटबल संघका अध्यक्ष राम प्रजापतिले बताए ।

यदि, आफूहरुले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको उनीहरुले बताए । गत असार २६ गते हुने भनिएको जिल्ला लिग आजसम्म पनि सञ्चालन नगरेको भन्दै आफूहरुको पनि सहभागितामा निष्पक्ष प्रतियोगिता गर्न उनीहरुले आग्रह गरे ।  


प्रतिक्रिया