भारतमा टिक टक लगायत ५ दर्जन चिनियाँ एप माथि प्रतिबन्ध

असार १६, २०७७ | एजेन्सी
मुलुकको सुरक्षामा खतरा रहेको भन्दै भारत सरकारले टिक टक लगायत ५ दर्जन चिनियाँ एप माथि प्रतिबन्धको घोषणा गरेको छ ।
भारतको सार्वभौमिकता तथा निष्ठा प्रति पूर्वाग्रही रहेको निष्कर्ष निकाल्दै त्यहाँको सरकारले ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जसमध्ये ठुलो संख्यामा भारतमा प्रयोग भैरहेको वि च्याट एप समेत छ । दुई मुलुकबीच सिमामा जारी तनावका कारण भारत सरकारले पछिल्लो प्रतिबन्धको निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।
चीन र भारत सरकारबीच लद्धाक क्षेत्रमा तनाव चर्किएको छ । जारी तनावका बीच चिनिया सेनासँगको झडपका कारण २० भारतीय सेनाको मृत्यु भएको छ । ती एपहरुले गोप्य सुचना संकलन गरी चीन सरकारलाई दिएको भारतीय सुचना प्रविधि मन्त्रालयले आरोप लगाएको छ ।
टिक टकका १२ करोड भन्दा बढी प्रयोगकर्ता भारतमा छन् । अन्य चिनियाँ एपका अधिकांश प्रयोगकर्ता पनि भारतकै छन् ।