एसईईको नतिजाप्रति गरिएको टिप्पणीमा प्रधानमन्त्री ओलीको असन्तुष्टी

असार १४, २०८२ | काठमाडौं
माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति गरिएको टिप्पणीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टी जनाउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्र्दै प्रधानमन्त्री ओलीले सकारात्मक नतिजालाई समेत गलत अर्थ लगाउने प्रयास भएको भन्दै आपत्ती जनाउनुभएको हो । सार्वजनिक नतिजा अनुसार यस वर्षको माध्यमिक शिक्षा परिक्षामा ६१ दशमलव ८१ प्रतिशत परिक्षार्थी उत्रीर्ण भएका छन् ।
विद्यार्थी अभिभावक र सम्बन्धीत निकायको सक्रियतामा नतिजा राम्रो आएपनि विद्यार्थीको अपमान हुने गरि टिप्पणी गरिएको प्रधानमन्त्रीको आरोप छ । आगामी वर्ष नतिजामा थप सुधार हुने गरि काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले सञ्चालन गरेको अनलाईन कक्षा नतिजा सुधारका लागि प्रभावकारी देखिएको जनाउँदै प्रधानमन्त्री ओलीले अर्को वर्ष उत्रीर्ण दर ७० प्रतिशत पुर्याइने बताउनुभयो ।
यसैबीच हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि साउनमा पूरक परीक्षा सञ्चालन गरिने भएको छ । परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणकालागि भने असार २३ गते सम्म आवेदन दिन सक्ने छन् ।