च्याम्पियन्स र युरोपा लिग अनिश्चित कालका लागि स्थगित

चैत्र २०, २०७६ | काठमाडौं

विश्व खेलकुदमा कोरोनाको कहर फैलिंदै गएको छ । महत्वपूर्ण खेलकुद प्रतियोगिता एकपछि अर्को स्थगित हुँदै गर्दा युरोपियन फुटबलको सर्वाेच्च निकाय युइएफएले यो सिजनको बाँकी रहेको च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गरेको छ ।

युइएफएको ५५ सदस्यीय राष्ट्रबीच हिजो भएको भिडियो कन्फ्रेस बैठकले बाँकी सिजनको च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यस्तै उसले आगामी जुनसम्मको सबै अन्तराष्ट्रिय फुटबल पनि स्थगित गरेको जनाएको छ । युईएफको यो निर्णयले विश्व फुटबलको अर्काे सिजन समेत प्रभावित हुने निश्चित छ । यसअघि उसले युरोकपको प्ले अफ खेलहरु जुनमा गर्ने तालिका बनाएको थियो ।

प्रिमियर लिग ३० अप्रिलसम्म स्थगित छ । युरोपका लिगहरु रद्ध गर्ने कि सुचारु भन्ने विषयमा अझै निर्णयमा पुग्न बाँकी छ । युइएफएका अध्यक्ष एलेक्सन्दर सेफरिनले एक साताअघि जुन महिनासम्म पनि सिजन शुरुवात हुन नसकेको अवस्थामा सिजन अन्त्य गरिने बताएका थिए ।


प्रतिक्रिया