फुटबल गतिविधी तत्काल सुरु गर्नु गैरजिम्मेवारपूर्ण हुन्छ : फिफा अध्यक्ष इन्फान्टिनो

चैत्र २९, २०७६ | काठमाडौं

फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्नु गैरजिम्मेवारपूर्ण हुने बताएको छ । अहिलेकै अवस्थामा फुटबल गतिविधि चाँडो शुरु गर्न खोज्न हतारको निर्णय हुने उसले स्पष्ट पारेको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मानव जातिको सुरक्षाको अगाडि फुटबल केही पनि नभएको बताएका छन् । उनले भनेका छन्, ‘कुनै खेल, लिग र अन्य प्रतियोगिता मानव जातिको सुरक्षालाई खतरामा पार्ने कारण बन्न हुँदैन ।’ खतरा मोल्नुभन्दा केही समय पर्खिनु नै उत्तम हुने उनले बताए ।

कोरोनाका कारण विश्वभरका घरेलु फुटबल हाल स्थगित छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धलेकिएको छ । तर, विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।

विश्व फुटबललाई कसरी पुरानै अवस्थामा फर्काउने र कहिलेबाट त्यो शुरु गर्ने भन्नेमा छलफल जारी रहेको उनले बताए । मानव जातिको सुरक्षाको प्रत्याभूति शत प्रतिशत गर्न नसकिएसम्म फुटबल शुरु गर्न दवाव दिन नहुने पनि उनको तर्क छ । 


प्रतिक्रिया