यूरोपका प्रतिष्ठित दुई फुटबल लिग आगामी जुनबाट पुन: शुरु हुने

जेष्ठ १३, २०७७

यूरोपका प्रतिष्ठित दुई फुटबल लिग आगामी जुनबाट पुन: शुरु हुने भएका छन् । स्प्यानीश ला लिगा र इटालियन सिरी ए आगमी जुन दोस्रो साताबाट थाल्ने तयारी दुबै मुलुकले गरेका छन् । यी दुई लिग शुरु भएपछि यूरोपको फुटबल चलायमान हुने अपेक्षा गरिएको छ । जुन ११ मा रियल बेटिस र सेभियाबिचको खेल खाली रंगशालामा आयोजना गरेर ला लिगा पुन: थाल्ने तयारी आयोजकले गरेको छ । र, सो खेल कोरोना संक्रमणले ज्यान गुमाउनेहरुको सम्झनामा खेलिने ला लिगाका प्रमुख जाभिएर टेबासले जनाएका छन् । 

स्पेनले कडा लकडाउनलाई हटाएपनि सार्वजनिक स्थलमा १० जनाभन्दा बढीको भेला हुन नपाउने नियम लगाएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले गत शनिबार जुन ८ बाट मुलुकको शीर्ष डिभिजनका दुबै लिग शुरु गर्न अनुमति दिएका थिए । त्यस्तै इटालियन सिरी ए पनि जुनबाट शुरु गर्ने योजना त्यहाँको सरकारले अघि सारेको छ । जुन १३ वा २० बाट सिरी ए पुन: थाल्ने बारे खेलकुद मन्त्रालयले क्लवहरुसँग छलफल तीव्र पारेको छ । यसबारे आगामी बिहीबारसम्ममा अन्तिम टुङ्गोमा पुगिने खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले जनाएका छन् ।

यूरोपमा कोरोना महामारीका कारण फ्रेञ्च लिग वान रद्द भएपनि जर्मन बुन्डेसलिगा भने पुन: शुरु भइसकेको छ ।  


प्रतिक्रिया