राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको कोरोना परीक्षण सुरु

श्रावण २६, २०७७ | काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको कोरोना परीक्षण सुरु गरेको छ । फिफा विश्वकप छनोट २०२२ र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने टिमका ११ खेलाडीको आज स्वाब संकलन गरिएको छ । 

सोमबार ११ खेलाडी सहित, प्रशिक्षक फिजियोर, एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको स्वाब सङ्कलन गरिएको एन्फाले जनाएको छ । खेलाडीहरु विशाल राई, मिक्चेन तामाङ, विमल राना, रन्जित धिमाल, दर्शन गुरुङ, दीप कार्की र रवि पासवानको स्वाब सङ्कलन गरिएको छ ।

त्यस्तै, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, पुजन उपरकोटी, देवेन्द्र तामाङका साथै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको पनि आजै परीक्षण गरिएको छ । बाँकीको परीक्षण भोलि गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी भदौ १ गतेबाट थाल्ने तयारी स्वरुप खेलाडीको कोरोना परीक्षण गर्न लागिएको हो । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले होम ग्राउण्डमा तीन खेल खेल्दैछ । नेपालले असोज २२ गते चाईनिज ताईपेई, २७ गते अष्ट्रेलियाको सामना गर्नेछ । 

यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको समूह बी मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । नेपालले जोडेको ३ अंक चाईनिज ताईपेईलाई हराएर प्राप्त भएको हो । नेपाल समूहको चौंथो स्थानमा रहँदा शीर्ष स्थानमा अष्ट्रेलिया छ ।


प्रतिक्रिया