ला–लिगामा बार्साको शानदार सुरुवात

आश्विन १२, २०७७ | काठमाडौं

बार्सिलोनाले स्पेनिस ला लिगा फुटवलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा गएराती भियारियललाई ४–० ले हराउँदै बार्साले सिजनको सुखद सुरुवात गरेको हो । 

घरेलु मैदानमा बार्सालाई जिताउन अंशु फातिले २ तथा लियोनल मेस्सीले एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । खेलमा सबै गोल पहिलो हाफमै संभव भएको थियो । फातिले १५ औं मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर पारे ।

३५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेस्सीले जाली चुमाउदा बार्सा ३–० को अवस्थामा पुग्यो । पहिलो हाफको अन्तिम समयमा उपहार गोल मद्दतमा बार्सा ४–० को बलियो अवस्थामा पुगेको थियो । ५७ प्रतिशत बल पोजेशनको खेलमा बार्साले दोस्रो हाफमा पनि आक्रमणलाई जारी राखेको थियो । तर उसका बाँकी प्रयास असफल बने ।

ला लिगाका अन्य खेलहरुमा सेभियाले काडिजलाई ३–१ ले, एट्लेटिको मड्रिडले ग्रानाडालाई ६–१ ले तथा लेभान्तेले ओसासुनालाई ३–१ ले पराजित गरे । 

एट्लेटिकोको जितमा बार्साबाट भर्खरै अनुबन्धीत भएका लुईस स्वारेजले २ गोल गरेका थिए । आईबर भने एथ्लेटिको बिल्वाओसँग २–१ ले स्तब्ध बन्यो । सेल्टा डि भिगो र रियल भल्लाडोलिडले भने एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।  


प्रतिक्रिया