महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक हिसाबमा स्वास्थ्य परिक्षण

रेडियो कान्तिपुर संवाददाता

आश्विन २०, २०७६ | काठमाडौं

काठमाडौँ — सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो । 

सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ। उनलाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ।

दसैं बिदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकोले अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो। बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रुटी रहित हुने गरी अनुसन्धान गरिरहेको छ। 'अनुसन्धानको प्रकृयालाई रफ्तारमा अगाडि बढाएका छौं, छिट्टै यो प्रकृयाले पूर्णता पाउँछ,' उनले भने।

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ।


प्रतिक्रिया