पछिल्लो २४ घण्टामा मुलुकमा ३ सय ७८ जना कोरोना संक्रमित थपिए

श्रावण २४, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा मुलुकमा ३ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्ल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

 उहाँका अनुसार काठमाडौंमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ संक्रमित थपिएका हुन् । यसैबीच पछिल्लो २४ घण्टामा ४ सय ९९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै १६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकासहित पर्सा, रौटहट र महोत्तरीमा कोरोना संक्रम उच्च रहेको मन्त्रालयले जनाएको छ । मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा छन् भने क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो । सक्रिय संक्रमित ६ हजार २ सय ६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौमा सबैभन्दा बढी ५६ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना पुष्टि भएकी काठमाडौं टोखा ६ की ४१ वर्षीया महिलाको हिजो पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिलाको आईसीयूमा उपचार भइरहेको थियो । पर्साको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । वीरगन्ज ३ छपकैयाका ती वृद्ध मधुमेह तथा दमका रोगी थिए । यसैबीच, कोसी अस्पतालमा हिजो मृत्यु भएका विराटनगर ९ बस्ने ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । उनी उच्च रक्तचापका रोगी थिए ।


प्रतिक्रिया