तिलोत्तमाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

असार २१, २०८२ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतिले पारित भएको छ । शुक्रबार उपप्रमुख एवम बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जगेश्वर देवी चौधरीले दोस्रो नगरसभाको सातौं अधिवेशनमा पेश गरेको बजेट सर्वसम्मत पारित भएको हो । 

तिलोत्तमाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालूतर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलब १७ प्रतिशत र पुँजीगततर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैयाँ अर्थात ५५ दशमलब ८३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

बजेटमा आन्तरिक राजश्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तानतरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैयाँ प्राप्त हने लक्ष्य लिइएको छ । असार ९ गते विषयगत रुपमा ल्याइएको बजेट शुक्रबारको नगरसभामा उपप्रमुख चौधरीले खण्डिकृत गरी प्रस्तुत गर्नु भएको थियो । 

बजेटमा नीति तथा कार्यक्रमले सम्बोधन गरेका र शाखागत विषयलाई सम्बोधन गरिएको छ । नगर सभाले उपप्रमुख चौधरीले राजश्व परामर्श समिति संयोजकका रुपमा प्रस्तुत गरेको आर्थिक विधेयक २०८२ समेत पारित गरेको छ । आर्थिक विधेयकमा चालू आर्थिक वर्षका करका दररेटमा केही हेरफेर तथा करको दायरा समेत बढाइएको छ । 

आर्थिक विधेयकले यसअघि व्यवसायीले आलोचना गरेको विज्ञापन करको विषयलाई स्पष्ट पार्दै कुनैपनि प्रतिष्ठानले आफ्नो व्यवसायको पहिचानको लागि राखेको एउटा मुख्य नाम पाटीलाई करपाटीमा नराख्ने बताइएको छ । 

त्यस्तै नगरसभाले उपप्रमुख चौधरीले प्रस्तुत गरेको न्यायिक समितीको प्रतिवेदन, आन्तरिक लेखा समिति संयोजक फर्सुराम गिरीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन तथा सुशासन समिति संयोजक राधा शाहीले प्रस्तुत गरेको निर्णय अनुमोदन गरेको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो । 

उहाँले यो बजेटले तिलोत्तमाको समग्र विकासको अवधारणााई मूर्त रुप दिनेगरी बुँदा समेटेको बताउनुभयो । यसले नगरको विकासलाई अर्को फड्कोमा लैजाने विश्वास लिएको उहाँको भनाई छ । 


प्रतिक्रिया