प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

असार २०, २०८२

स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैं हुनुहुन्छ । स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली म्याड्रिडबाट कतारको दोहा प्रस्थान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त सम्बन्धी चौंथो अन्तरर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते स्पेन प्रस्थान गर्नु भएको थियो । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष समेत रहेका समकक्षी पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो । उहाँले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गर्नुभयो । यसका साथै युरोपका नेपाली समुदायका प्रतिनिधिसँग पनि उहाँले छलफल गर्नु भएको थियो । प्रधानमन्त्री ओली अपरान्ह पौने ४ काठमाण्डौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया