नेपालले एसियन कप छनोटमा उज्वेकिस्तानको सामना गर्दै

असार २१, २०८२ | काठमाडौं
नेपालले एएफसी महिला एसियन कप फुटबल छनोटको आफ्नो अन्तिम खेलमा आज आयोजक उज्वेकिस्तानको सामना गर्दैछ । यो खेलको विजेताले अष्ट्रेलियामा सन् २०२६ मा हुने एसियन कपमा स्थान बनाउने छ भने पराजित हुने टोली बाहिरिनेछ । त्यसै कारण दुई टोलीका लागि यो निर्णायक भिडन्त हुनेछ ।
नेपाल र घरेलु टोली उज्वेकिस्तानबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ । समूह ‘एफ’को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तान समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन् ।
पछिल्लो समय उज्वेकिस्तान कम्तीमा एसियाली फुटबलको एउटा शक्ति बनेको छ । गत वर्ष पेरिस ओलम्पिकमा उज्वेकिस्तानले डेब्यु गर्दै सन् २०२६ मा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ ।
नेपाली टोली पाँच पटक एसियन कप खेलेको उज्बेकिस्तानलाई पराजित गर्दै २६ वर्षपछि तियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । तर, चुनौती सजिलो छैन ।
फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान फिफा वरीयतामा ५१ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ । समूह चरणको खेलमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोले हराएको थियो ।
यस्तै, उज्वेकिस्तानले पनि लाओसलाई ७–० श्रीलंकालाई १०–० गोलले हराएको थियो । छनोटको समूह ‘एफ’ मा लाओस र श्रीलंकाबीच खेल हुनेछ । त्यसपछि नेपाल र उज्वेकिस्तान भिड्ने छन् ।