नेपालले यू-१६ इस्टजोन कप क्रिकेटमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

असार २१, २०८२ | काठमाडौं
नेपालले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित मैदानमा सिंगापुर टस जतेर ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।
बिहीबार सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँगको उपाधि भीडन्त पक्का गरेको थियो । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।
सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो ।
नेपाल अघिल्लो संस्करणको पनि उपाधि विजेता हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
एसियाली क्रिकेट परिषद् एसीसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका थिए ।