नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने

श्रावण २४, २०७७ | पर्सा

पर्साको नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राखेर संक्रमितको उपचार र व्यवस्थापनका लागि जिल्लास्थित नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 जिल्लामा हाल सञ्चालित दुई वटा कोभिड अस्पतालको बेड संख्या अपर्याप्त भएकाले संक्रमितको उपचारको लागि सो मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो । बैठकले सो मेडिकल कलेजमा कम्तिमा ३ सय शैय्याको कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गर्न गर्ने निर्णय गरेको छ ।

 थप पहल एवं समन्वयका लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो । नारायणी अस्पतालमा थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ ।

 जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएकाले लक्षण नभएका तथा सामान्य लक्षण भएका संक्रमितको व्यवस्थापनको लागि थप सामुदायिक आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने निर्णय केन्द्रले गरेको छ । सिद्धार्थ मावि, गोपाल मण्डली धर्मशाला, रानीसती धर्मशाला लगायतका सामुदायिक आइसोलसन सेन्टरहरुको खाना, नास्ता लगायतको व्यवस्थापकीय खर्च व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गने निर्णय भएको बस्नेतले बताउनुभयो ।


प्रतिक्रिया