संघीय संसदका दुबै सदनको बैठक बस्दै

असार २४, २०८२ | काठमाडौं
संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूची रहेको छ ।
बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
यसैगरी, राष्ट्रिय सभाको बैटक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।