वैदेशिक रोजगारमा जाने श्रमिकलाई बढी शुल्क असुल्न नपाइने नीति कडाइका साथ लागू गरिने

रेडियो कान्तिपुर संवाददाता

चैत्र २१, २०८२ | काठमाडौं

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले आज भिडियो सन्देश जारी गर्दै यो नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको बताउनुभएको हो । तोकिएको भन्दा बढी सेवा शुल्क लिएमा मन्त्रालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

सरकारले वैदेशिक रोजगारमा जाने युवालाई तोकिएभन्दा बढी शुल्क लिएको वा नलिएको भनेर त्रिभुवन विमानस्थलमा समेत सोधपुछ गर्न समेत शुरु गरिसकेको छ । २०७२ जेठ २६ गतेसाउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जाने श्रमिकको लागि फ्रि भिसा, फ्रि टिकटको नीति भन्दै श्रमिकसँग सेवाशुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरिएको थियो ।  


प्रतिक्रिया